विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए।

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।

उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन भएको हो। संकलितमध्ये आधा रकम विदेशमा बस्नेहरूबाट र बाँकी आधा नेपालभित्रैबाट उठेको देखिन्छ।

अहिलेसम्म विदेशमा बस्नेहरूबाट ‘गोफन्डमी’ मा खोलिएको खातामा २२ हजार २ सय ९१ अमेरिकी डलर र नेपाली बैंक खातामार्फत् २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अहिलेलाई यो रकम पर्याप्त भएकाले आर्थिक संकलन बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ।

कुनै पनि व्यक्तिको उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहायता अपिल गर्दा चौबीस घन्टामै यति ठूलो रकम उठ्नु आफैंमा ठूलो घटना हो।

करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आए पनि उज्ज्वल प्रमुख राजनीतिक पार्टीमा आबद्ध लोकप्रिय नेता होइनन्। उनी राजनीतिमा संलग्न त छन्, तर उनको उपस्थिति प्रत्यक्ष देखिने गरी बनिसकेको छैन। उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिँदा पनि खासै सफलता पाउन सकेन।

यति हुँदाहुँदै उनलाई कोरोना संक्रमण भयो भन्ने खबरले सामाजिक सञ्जालहरूमा सुस्वास्थ्य कामनाका सन्देशको बाढी ल्यायो। उनको उपचारका लागि आर्थिक सहयोग मागेपछि त सम्भवतः विगतमा कहिल्यै नउठेको रकम संकलन भयो।

अहिले पनि सहयोग गर्न चाहनेहरूबाट तारन्तार सोधपुछ आइरहेको उनको लामो समयदेखिका सहकर्मी मिलन पाण्डे बताउँछन्।

विवेकशील साझा पार्टीका संयोजक पाण्डेका अनुसार पछिल्लो समय उनको मेसेन्जर र भाइबरको इन्बक्स चार खालका सन्देशले भरिएका छन्।

एकथरीले थापाको उपचार निम्ति इ–सेवा वा इ–बैंकिङमार्फत् आर्थिक सहयोग गरेर त्यसको स्क्रिनसट पठाएका छन्।

अर्कोथरी सन्देशमा ‘हामी उज्ज्वल थापालाई सहयोग गर्न चाहन्छौं, कसरी गर्ने?’ भनेर सोधिएको छ।

तेस्रोथरी सन्देश त्यस्ता व्यक्तिका छन्, जसले इ–सेवा वा इ–बैंकिङ कारोबारबाट सहयोग गर्न खोज्दा पनि प्राविधिक कारणले पैसा पठाउन सकेनन्। उनीहरू सोध्छन्, ‘हामीले दुई–तीनचोटि कोशिस गर्‍यौं, तर पैसा गएन। अर्को कुनै उपाय छ कि?’

चौथोथरी सन्देश अलि फरक खालको छ, पाण्डेले भने, ‘देशभित्र र बाहिरका कतिपय व्यक्तिले उहाँको स्वास्थ्य लाभको निम्ति पूजा आयोजना गरेका छौं भन्दै तस्बिर माग्छन्। केहीले त जुम वा अन्य सामाजिक सञ्जालमार्फत् ‘प्रेअर सेसन’ समेत चलाएका छन्।’

यसबाहेक थापाप्रति सद्भाव व्यक्त गर्दै अनगिन्ती फोन आउने गरेको जानकारी दिँदै पाण्डेले आइतबार बिहानको एउटा फोन–वार्ता भावुक हुँदै सुनाए, ‘आजै एक जनाले फोन गर्नुभएको थियो। कुरा गर्दागर्दै क्वाँक्वाँ रून थाल्नुभयो।’

थापाप्रतिको सद्भाव र आर्थिक सहायता संकलनमा दुइटा पक्ष महत्वपूर्ण छ।

पहिलो, थापाको उपचार निम्ति नेपालभित्रैबाट २६ लाखभन्दा बढी उठ्नु सामान्य कुरा होइन। त्यो रकम कुनै व्यक्ति वा संस्थाले लाखौं एकमुष्ट दिएर संकलन भएको होइन। अध्यक्ष पाण्डेका अनुसार संकलित रकममध्ये ५ देखि १० हजार सहयोग गर्नेहरू अत्यधिक छन्। त्यसबाहेक ५००, ३००, २५० र कतिपयले २०० रुपैयाँ पनि सहयोग गरेका छन्।

‘हामीले सर्सर्ती हेर्दा थोरै थोरै रकम सहयोग गर्नेहरू धेरै हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँको उपचारमा अलिकति भए पनि योगदान गरौं भन्ने धेरैको मनसाय देखिन्छ।’

अर्को महत्वपूर्ण कुरा, थापाप्रति सद्भाव व्यक्त गर्ने वा आर्थिक सहयोग गर्नेहरूमा पार्टीका कार्यकर्ता, शुभेच्छुक वा समर्थक मात्र छैनन्। विवेकशील साझासँग नजोडिएका अपरिचित व्यक्ति र समाजको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट उल्लेख्य रूपमा आर्थिक सहायता संकलन भएको पाण्डे बताउँछन्।

दुवै पक्ष हेर्दा, उज्ज्वल थापाप्रति नेपाली समाजको गहिरो सद्भाव देखिन्छ।

पुराना राजनीतिक दलहरूका तौरतरिकाबाट वाक्क भएर उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए। उनी विवेकशील नेपाली दललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति आफ्नो मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून्। राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भन्नेबारे चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।

धेरै युवा पुस्तामा राजनीति भनेको फोहोरी दलदल हो र यसमा ओर्लिनु फोहोरमा लतपतिनु हो भन्ने धारणा छ। ती युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने उज्ज्वलले सन्देश दिएका छन्।

थापाको व्यक्तित्व पनि सरल र शालिन छ। कुनै तामझाम छैन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए। अहिले उनको पक्षमा उर्लिएको सद्भावले त्यही झल्काएको छ।

उनी राजनीतिमा छन्, तर राजनीतिक महत्वाकांक्षा उनमा छैन। राजनीति बदल्ने हुटहुटी र दृढता भने छ। बिपी कोइरालाले भनेजस्तो उनमा ‘ठूलो मान्छे होइन, असल मान्छे हुने’ ध्येय देखिन्छ।

‘नेपाली राजनीतिमा एउटा वैकल्पिक स्पेस हुनुपर्छ भन्ने उज्ज्वल थापाको सुरूदेखिकै मनसाय हो। उहाँको यही धारणाबाट प्रभावित भएर म र अरू धेरै साथीहरू यो पार्टीसँग जोडिएका हौं। हामी भर्खर भर्खर पार्टीमा आबद्ध हुँदा पनि उहाँले हामीलाई एउटा साधारण सदस्यका रूपमा कहिल्यै हेर्नुभएन। हामी सबै युवा पंक्ति मिलेर नै पार्टी मजबुत हुन्छ र कुनै न कुनै दिन यो पार्टी बलियो वैकल्पिक शक्तिमा रूपान्तरण हुन्छ भन्ने उहाँको विश्वास थियो,’ पाण्डेले भने।

उनले यो पनि भने, ‘उहाँको यो सोचले धेरैको मन छुन सफल भएको रहेछ। अहिलेको राजनीतिबाट असन्तुष्ट र यसमा करेक्सन हुनुपर्छ भनी धारणा राख्ने व्यक्तिहरू प्रत्यक्ष–अप्रत्यक्ष उहाँसँग जोडिएका रहेछन्। उहाँलाई व्यक्तिगत रूपमा नचिने पनि उहाँको विचार र व्यक्तित्वबाट प्रभावित रहेछन्।’

धेरैले थापाको स्वास्थ्यप्रति चासो राख्नु र उपचारमा सहयोग गर्न अघि सर्नुको मुख्य कारण उनी यसैलाई मान्छन्।

‘उहाँ आफ्नो कामको जस लिनुपर्छ भन्ने मान्छे होइन,’ पाण्डेले अगाडि भने, ‘डाक्टर गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गर्दा हामी प्लेकार्डमा विवेकशीलको नाम राखौं भन्थ्यौं, तर उज्ज्वल दाइ कहिल्यै मान्नुहुन्थेन।’

थापाको भनाइ थियो, ‘यो डाक्टर केसीको आन्दोलन हो, यसको श्रेय उहाँलाई नै जानुपर्छ। हामी यसमा जोडिएका मात्र हौं, त्यसैले जस लिनु जरूरी छैन। हामीले आफ्नो कर्तव्य निर्वाह गर्दै गयौं भने भोलि जनताले आफैं थाहा पाउने छन्।’

‘अहिले उज्ज्वल दाइप्रति जसरी धेरै मान्छेले माया र सद्भाव देखाइरहनुभएको छ, त्यसले उहाँ सही हुनुहुँदो रहेछ भन्ने लाग्छ। मान्छेले स्वतन्त्र ढंगमा हाम्रो कामको मूल्यांकन गरेका छन्। डाक्टर गोविन्द केसीको अभियानमा हामीलाई पनि सँगसँगै जोडेका छन्। यसले पनि उज्ज्वल दाइलाई सबैको प्रिय बनाएको हो भन्ने मलाई लाग्छ,’ पाण्डेले भने।

सामाजिक सञ्जालमा थापाको स्वास्थ्य लाभको कामना गर्दै सन्देश दिनेहरूमा विभिन्न क्षेत्रका स्वतन्त्र व्यक्तिहरूको उपस्थिति बाक्लो छ।

स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययनरत विवेक पौडेल ट्वीटरमा लेख्छन्, ‘उज्ज्वल दाइले कयौं युवालाई अहिंसात्मक बाटोबाट राजनीतिमा हस्तक्षेप गर्ने असल बाटो देखाउनुभएको छ। उहाँको ऊर्जाको धेरै खाँचो छ। उहाँलाई छिट्टै स्वास्थ्य लाभ होस्।’

थापाको मेडिसिटी अस्पतालमा ‘एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन’ (इसिएमओ) प्रविधिबाट उपचार भइरहेको छ।

भेन्टिलेटरको सहायताबाट शतप्रतिशत अक्सिजन दिँदा पनि फोक्सोले राम्ररी काम नगरेपछि यो उपकरण प्रयोग गरिन्छ। कोभिड– १९ का गम्भीर बिरामीको ज्यान जोगाउन यो उपकरण प्रयोग गरिँदै आएको छ।

त्रिवि शिक्षण अस्पतालका आइसियू विभाग प्रमुख सुवासप्रसाद आचार्यका अनुसार यो मिर्गौलाको डायलासिस मेसिनजस्तै हो। यो मेसिनले रगतमा भएको कार्बन–डाइअक्साइड हटाउन र कृत्रिम रूपमा अक्सिजन पठाउने काम गर्छ।

‘पहिले–पहिले मुटुको अपरेसन गर्दा यो प्रयोग गरिन्थ्यो। जबसम्म मुटुले काम गर्दैन यो उपकरण जोडिन्थ्यो,’ उनले भने, ‘अहिले कोभिड महामारीमा फोक्सोको गम्भीर समस्या देखिएका बिरामीलाई यो मेसिन प्रयोग गर्न थालिएको छ।’

‘पाँच–सात दिनसम्म यो उपकरण प्रयोग गर्दा गम्भीर अवस्थाका बिरामी ठिक हुन सक्छन्,’ उनले भने, ‘हामीकहाँ पनि एक जना बिरामी इसिएमओमा हुनुहुन्छ।’

उज्ज्वल थापाको कामले तानेको होस् वा व्यक्तित्वले, कोरोनाविरूद्ध कठिन संघर्ष गरिरहेका बेला उनलाई धेरैले सम्झिएका छन्। सद्भाव र सहयोग बर्साएका छन्।

एउटा मानिसले योभन्दा धेरै कमाउने के नै छ र!

प्रतिक्रिया

सम्बन्धित खवर