विन्डोज–११ अहिलेलाई प्रिभ्यू भर्जन हो। अर्थात् यो संस्करण विन्डोजको बेटा टेस्टिङ प्रोग्रामका लागि बनाइएको हो। तर विन्डोज प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटर, ल्यापटप वा अन्य उपकरणमा विन्डोज–११ डाउनलोड गर्न सक्छन्।

जेन्युन विन्डोज–१० भएका केही कम्प्युटर र ल्यापटपमा विन्डोज–११ अटोमेटिक डाउनलोड भइरहेको छ। तर कुनै कम्प्युटरमा भने नयाँ विन्डोज संस्करण डाउनलोड हुन समस्या आइरहेको गुनासो छ।

खासमा कम्प्युटरमा विन्डोज–११ का लागि आवश्यक अपडेट र अरू सामग्री नभएका कारण डाउनलोडमा समस्या आएको हो। यसका लागि माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टमका लागि चाहिने न्यूनतम आवश्यकता उल्लेख गरेको छ।

विन्डोज–११ को स्टेबल भर्जनका लागि कम्प्युटर र ल्यापटपमा नयाँ हार्डवेयर हुनुपर्छ।

यो संस्करण डाउनलोड गर्न कम्प्युटर वा ल्यापटपमा इन्टेल कोरको आठौं जेनेरेसनदेखिका पछिल्ला नयाँ प्रोसेसर हुन आवश्यक छ। एएमडी जेन २ वा अन्य नयाँ प्रोसेसरले पनि विन्डोज–११ सपोर्ट गर्छ।

इन्टेल कोरको सातौं जेनेरेसन प्रोसेसर र एएमडी जेन १ प्रोसेसर भएका कम्प्युटरमा विन्डोज–११ डाउनलोड गर्न नमिल्ने होइन। तर यी प्रोसेसर भएका कम्प्युटरले विन्डोज–११ को प्रिभ्यू भर्जन मात्र सपोर्ट गर्ने माइक्रोसफ्टले बताएको छ।

यसैगरी चार जिबी र्‍याम र ६४ जिबी इन्टरनल स्टोरेज वा योभन्दा बढी स्टोरेज भएका कम्प्युटरमा मात्र विन्डोज–११ डाउनलोड गर्न मिल्छ।

दुई जिबी र्‍याम वा ३२ जिबी इन्टरनल स्टोरेज छ भने ती ल्यापटपमा यो संस्करणले सपोर्ट गर्दैन।

विन्डोज–११ डाउनलोड गर्न कम्तीमा दुई वा दुईभन्दा बढी कोर भएको सिपियू पनि आवश्यक पर्छ। यी सिपियू एक गिगाहर्ज वा ६४ बिट प्रोसेसरको हुनुपर्छ।

यी कुराहरू पूरा भएपछि बल्ल विन्डोज–११ डाउनलोड गर्न सकिन्छ।

यो संस्करण डाउनलोड गर्न माइक्रोसफ्टको सफ्टवेयर परीक्षण प्रोग्राम  विन्डोज इन्साइडर प्रोग्राममा रजिस्टर गर्नुपर्ने हुन्छ।

यसपछि कम्प्युटर वा ल्यापटपको सेटिङमा गइ अपडेट एन्ड सेक्युरिटी नेभिगेट गरेर फेरि विन्डोज इन्साइडर प्रोग्राममा जाने। त्यहाँ रहेको डेभलपर सेटिङ अन गरेपछि विन्डोज–११ डाउनलोड गर्न मिल्छ।

माइक्रोसफ्टले विन्डोज–११ निःशुल्क उपलब्ध गराएको हुनाले आफ्नो कम्प्युटरमा विन्डोज–१० संस्करण भएका प्रयोगकर्ताले पैसा तिर्नुपर्दैन। तर यदि कम्प्युटरमा विन्डोज–१० छैन भने केही शुल्क लाग्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर