हाम्रो छिमेकमै एक उद्योगपति थिए- खिम बहादुर शाह । तत्कालिन समयका प्रख्यात उद्योगपति, समाजसेवी अनि राजनीतिज्ञ।

हामी सानै थियौं, तर पनि उनका बारेमा खुबै चर्चा सुन्थ्यौं। राजनीतिक परिवारका उनी हाम्रै समाजका राम्रा समाजसेवी थिए। तर उनको त्यो उद्योगकै कारण सकारात्मकभन्दा नकारात्मक गाली गर्नेको जमात ठूलो थियो। उनी मदिरा उत्पादन गर्ने उद्योगपति थिए।

एक्कासी उनी मरे, अनि सुरू भयो उनको जय–जयकार।

त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जाल थिएन, त्यसैले उनका मृत्युका खबरहरू फेसबुकमा आएनन्, तर रेडियोले दिनभरको खबरमा भट्याईरह्यो, ‘उद्योगपति तथा समाजसेवी शाहको निधन!’

सामाजिक सञ्जाल हुन्थ्यो भने उनी मृत्युपछि भाईरल हुन्थे।

हिजोसम्म पञ्चे भन्दै उनी बिरूद्ध सडकमा उर्लनेहरू या समाजमा सुटुक्क उनका बिरूद्ध ओकल्नेले पत्रिकामा ठूला ठूला समवेदना छपाए।

बाँच्दासम्म बाँच्न नदिनेले मरेपछि अमर बनाईदिए। ‘पञ्चे’ भन्दै उनी बिरूद्धको राजनीति गर्ने अहिले उनकै नामको स्कुलमा शिक्षाविद भएर प्रस्तुत हुन्छन्। सानै उमेरमा छक्क परेको घटना थियो त्यो।

दरवार हत्याकाण्ड भयो। राजा वीरेन्द्रका बंश सबै मारिए। आधाभन्दा बढी नेपालीले कपाल मुण्डन गरे। सायद त्यो दिन नेपाल अधिराज्यभर खाना पाकेन। पाकेकै भए पनि नुन खाईएन।

त्यतिबेला बल्ल राजा वीरेन्द्रका बारेमा सकारात्मक टिप्पणी टोलमा, चिया पसलमा, अनि भद्रहरूको बिचमा हुन थाल्यो।

बाँच्दासम्म ‘निरंकुश राजा चाहिँदैन!’ भन्दै सडक तताउनेले पनि राजा वीरेन्द्रको मृत्युमा कपाल मुण्डन गरेको मैले देखेँ।

‘राजा फाल्नुपर्छ, देशमा जनताको छोराले शासन गर्न पाउनुपर्छ’, भन्ने कम्युनिष्ट विचार पालेका धेरै भलादमी अंकलले वीरेन्द्रको मृत्यु पछाडि बल्ल उनका गुणका बयान गर्न थाले।

सधैं नेपथ्यमा रहेका वीरेन्द्र एक्कासी जनताको मनमा बस्न थाले। उनी मात्र होईन, उनका छोरा युवराज दिपेन्द्र पनि उस्तै प्यारा भैदिए। जनताको नजरमा दिपेन्द्र देशलाई चाहिने ब्यक्तिमा पर्न थाले। उनको कमि सारा नेपालीले गर्न थाले।

अस्तिसम्म शोषक शामन्ती राजतन्त्रको नामले बदनाम भएका राजा वीरेन्द्रको बंश नास भएकै पर्सीपल्टबाट उनी उदार, प्रजातन्त्रवादी राजा भए।

उनी बाँच्दासम्म महत्व नबुझेका नेपालीले मरेकै दिनदेखि गुनगान गाउन थाले। अचम्म लाग्दो समाज।

राजनीति भित्र मात्र होईन, गाउँ समाजमा पनि त्यस्ता धेरै मृत्यु हुन्छन् जुन बाँच्दासम्म बाँच्न नदिने अनि मरेपछि अमर बनाउने ध्याउन्नमा लागिरहेका हुन्छन्।

छिमेकमा मरेका हजुरबाउको बारेमा अनेक टिप्पणी सुनिन्छ।

‘मस्तै मिजाशीला, सहयोगी, सुख दुःखमा साथ दिने खालका मान्छे हुन्, गाउँ नै रूवाएर गए,’ उनी मरेपछि घाटमै मलामीबीच चल्ने अनिवार्य संवाद हो यो। प्रायः मलामी यस्तै बोल्दै जलेको लास पर्खन्छन्।

उनै हजुरबा बाच्दासम्म भनिन्थ्यो, ‘कन्जुस बुढो ! आफू पनि गर्दैन, अरुलाई पनि गर्न दिँदैन। मर्न नसकेको असत्ति।’

माथिका उदाहरण काल्पनिक होईननन्। राजा वीरेन्द्रको बंश नास हुनुभन्दा पहिला र पछिका टोले टिप्पणीबाटै थाहा हुन्छ-हामी बाँच्दासम्म कति महत्व दिन्छौं अनि मरेपछि कति।

पछिल्लो समय एउटा निःस्वार्थ युवा राजनीतिज्ञको निधन भएपछि मैले यो ब्लग लेख्न बसेको हुँ। उनी माथि नेपाली जनताले देखाएको माया अनि आशा उनी मरेपछि मात्र ब्यक्त भए।

उनी बाँच्दासम्म यिनै आशा गर्नेले किन ‘तपाईँ देशलाई चाहिने मान्छे हो!’ भनेर खुल्लम खुल्ला भन्न सकेनन्? तर मरेपछि रूदै सामाजिक सञ्जाल भरिँदैछ।

एउटा कथा सुनेको थिए-जिउँदो कुखुराको महत्व बाँच्दासम्म हुँदैन, जब उसलाई मारिन्छ तब अलग अलग परिकारको अलग अलग महत्व सँगै मूल्य निर्धारण गरिन्छ। अर्थ थियो, जिउँदो हुँदासम्म महत्व अनि मूल्य दुबै हुँदैन। मृत्युसँगै महत्व अनि मूल्य दुबै महत्वपूर्ण भइदिन्छ।

उज्वल थापा पनि त्यही कुखुरा जस्तै भए, बाच्दासम्म कुनै महत्व भएन। मरेपछि देशलाई चाहिने मान्छे बने, छुट्टै राजनीतिक सोचका बने, देशमा बैकल्पिक शक्तिका जन्मदाता बने। अरू के के बने भन्ने कुरा सामाजिक सञ्जालमा उनका लागि लेखिएका स्टाटसले प्रष्टै पार्छ।

तर मर्नुभन्दा अघि उज्वल थापाका यिनै फ्यानहरू कहाँ थिए? उनी हस्पिटल भर्ना भएपछि मात्र उज्वल भनेर चिन्नेहरु थुप्रै छन् नेपाली समाजमा।

एक ब्यवसायीले उनको उपचार आफ्नै खर्चमा गर्छु भनेर दिएको अभिव्यक्तिसँगै उनको चर्चा यसरी चुलियो कि, मानौं उनी तीन करोड नेपालीको मुटु थिए।

हो थिए! उनी नि:स्वार्थ थिए। राजनीतिलाई व्यापार बनाउन हुँदैन भन्ने सोचका थिए। उनी नेपाललाई माया गर्ने नेपाली थिए ।

तर हामीले चिन्न ढिला गर्‍यौ । उनले बिबेकशील समाज जन्माउँदै गर्दा हामी कि त कांग्रेस थियौं, कि कम्युनिष्ट । उनले भ्रष्टाचारको विरोध गर्ने बिबेकशील नेपाली जन्माउँदै गर्दा हामी आफ्ना नेतालाई काखी च्याप्दै गयौं।

उनले मुसुक्क हाँसेको इमोजी स्टाईलको बिबेकशील लोगो बनाउँदै गर्दा हामी कि रूखको प्रचारमा थियौं, कि त हसिया हथौड़ाको।

उनले सुसासन, भ्रष्टाचारमुक्त नेपालको कल्पना गर्दा हामी झोला बोकेर जिन्दावाद र मुर्दावाद भट्याउँदै थियौं।

उनले बिबेकशील युवासहित माईतीघर मण्डलामा प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गर्ने असल संस्कार देखाउँदै गर्दा हामी टायर बालेर सडक बन्दमा थियौं।

सोझो अर्थमा भन्नुपर्दा हामी राजनीतिक उदण्डतामा रमाउँदै गर्दा उनी विवेक सिकाउँदै थिए।

उनी राजनीतिक त्याग, राजनीतिमा युवा पुस्ताको महत्व सिकाउँदै गर्दा हामी सत्तरी कटेका बृद्धलाई युवा नेता मानेर पुज्दै थियौं। हामी उनको सोच भन्दा धेरै पर थियौं।

सिधा भन्नुपर्दा हामी अरिंगाल थियौं, हामी हनुमान थियौं, हामी झोले थियौं। तर बिबेकशील बन्न सकेनौं।

जब उनी मृत्युसँग लड्न थाले, तब बल्ल हाम्लाई उनको महत्व हुन थाल्यो, देशलाई उनको खाँचो हुन थाल्यो।

हिजो कांग्रेस बनेका युवा पनि उनको मृत्युमा रोए, कम्युनिष्ट बनेका युवाले पनि समवेदना दिए। त्यो मृत्युमा दिइने सिम्प्याथी अलग पाटो हो । तर उनी देशलाई , जनतालाई चाहिने मान्छे हुन भन्ने कुरा आज किन बुझ्दैछौ त हामी? हिजो किन बुझ्न सकेनौं?

आज उनको मृत्यु सँगै देखाईएको माया हिजो बिबेकशील जन्मदा देखाएको भए सायद उनी बाँच्न पनि सक्थे।

हिम्मत, सहारा अनि प्यारले खतरनाक रोगलाई जित्न सकिन्छ, जाबो कोरोना त कमजोरले समेत जितेका छन्।

जुन उदेश्यले बिबेकशीलको जन्म भयो। सोही अनुरूप सफलता हात नपर्नू, जनताले चासो नदेखाउनू, युवाहरू कि, कांग्रेस कि कम्युनिष्ट संस्कारमै रमाउनू, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा पनि युवाको आकर्षण नबढनुले पनि उज्वल थापा गलेका थिए।

रोगसँग लड्न हिम्मत चाहिन्छ, उनले त्यो हिम्मत युवाको साथले पाउँथे होला। तर त्यो उनले पाएनन। अन्ततः उनी सबैलाई रूवाउँदै गए।

उनी गएसँगै सामाजिक सञ्जाल यसरी रून थाल्यो कि, आज हरेकका मनमा उज्वल थापा छन्।

बाँच्दासम्म उज्वल थापालाई नचिन्नेले पनि आज आफ्ना सामाजिक सञ्जालमा उनका फोटो पेष्टिन भ्याएका छन्।

ढिला भैसक्यो! उनी अर्कै दुनियाँमा गइसके। अनि उनी देशलाई चाहिने मान्छे हुन्, नेपाली जनताका मुटु हुन् भनेर बुझे जस्तै अबको पुस्तालाई संरक्षण गरौं। मरिसकेपछि महत्व बुझ्ने उल्टो बानी फेरौं।

केही त सिकौं। वीरेन्द्र बाँच्दा सम्म बुझेनौं, मरेपछि पछुताउँदै छौं। उज्वल थापा बाँच्दासम्म बुझेनौं, मरेपछि चिन्दैछौं।

भोलि यहीँ क्रम दोहोरिनुभन्दा आजै मान्छे चिनौं, झोला बोकेर झोले नबनौं। विचार बोकेर बिबेकशील बनौं।

लेखकः दिपक घिमिरे

प्रतिक्रिया

सम्बन्धित खवर