सरकारले निषेधाज्ञा जारी गरेपछि काठमाडौं उपत्यकामा व्यापार, व्यवसाय ठप्प छन्। मान्छेहरू प्राय: घरभित्रै बस्छन्। गल्ली, सडक चकमन्न छन्।

तर काठमाडौंमै एउटा यस्तो ठाउँ छ, जसलाई निषेधाज्ञाको शून्यताले छोएको छैन।

अरूतिर पसलमा चौबीसै घन्टा ताल्चा लागेका बेला यहाँ बिहान १० बजे नै धमाधम सटर खुल्छन्। व्यापार अरू बेलाजस्तै छ। क्रेताहरू सामान किनिरहेका हुन्छन्, बिक्रेता बेचिरहेका हुन्छन्। माग बढेर दिउँसोतिर त भ्याइनभ्याइ हुन्छ।

यहाँ सामान ओसार्नेहरू ओसारिरहेका छन्। कतै सामान लोड भइरहेछ, कतै अनलोड गरिँदैछ। खाली कार्टुन बटुल्नेहरू पनि तँछाडमछाड गर्दैछन्।

‘यहाँ आएपछि लकडाउन छ भन्ने सोच नै आउँदैन। लकडाउन छ र? भन्ने लाग्छ,’ त्यही ठाउँका एक बिक्रेताले भने।

निषेधाज्ञा बेला पनि भीडभाड हुने यो ठाउँ हो, क्षेत्रपाटी।

क्षेत्रपाटीका यी व्यवसायीले निषेधाज्ञा उल्लंघन गर्दै पसल खोलेका होइनन्। उनीहरूलाई निषेधाज्ञामा पनि पसल खोल्ने अनुमति छ। किनभने, यो काठमाडौंको औषधि थोक बजार हो।

यो बजार मानिसको जीवनसँग जोडिएको छ। अहिले कोरोना महामारी बेला त मास्क, स्यानिटाइजर, अक्सिमिटरदेखि विभिन्न किसिमका औषधिको माग बढेको छ। उपत्यकाभित्र र बाहिरबाट समेत माग आउने क्रम बढेको बिक्रेता बताउँछन्। यसले उनीहरूलाई व्यस्त बनाउँछ।

‘हामीले पनि डराएर पसल नखोल्ने हो भने धेरै बिरामीले औषधि पाउँदैनन्। त्यसपछि त झनै डरमर्दो अवस्था आउँछ। त्यही भएर डर लागे पनि नडराए जसरी पसल खोल्नुपर्छ,’ क्षेत्रपाटीका औषधि व्यवसायी बाबुराम पाण्डेले भने।

उनका अनुसार पछिल्लो समय उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानीय सरकारहरूबाट मास्क, स्यानिटाइजर, साबुन, पिपिइ, सर्जिकल सामग्री तथा अन्य औषधिको अर्डर आउने क्रम बढेको छ। एनजिओ तथा आइएनजिओहरूबाट पनि ठूलो परिमाणमा स्वास्थ्य सामग्रीको अर्डर आइरहेकै छ।

पाण्डेको पसल निषेधाज्ञामा पनि शनिबारबाहेक हरेक दिन बिहान १० बजे खुल्छ। कोरोना त्रास बढ्दै गएकाले बरू उनी अरू समयभन्दा चाँडै पसल बन्द गर्छन्। साँझ करिब ५ बजेदेखि पसलहरू बन्द हुन थाल्ने उनी बताउँछन्।

महामारीबाट जोगिन उनीहरूले पसल सञ्चालनमा सक्दो सुरक्षा उपाय अपनाएका छन्। ग्राहक र बिक्रेताबीच भौतिक दुरी कायम राख्न डोरी टाँगिएको छ। त्यो डोरीको सीमाभन्दा भित्र ग्राहक छिर्न पाउँदैनन्। डोरीमा सेतो कागज टाँसिएको छ, जसमा कालो अक्षरले लेखिएको छ, ‘सामाजिक दुरी कायम गरौं।’

‘आफू पनि सुरक्षित हुने, ग्राहक पनि सुरक्षित हुने उपाय अपनाउँदै पसल सञ्चालन गरिरहेका छौं,’ पाण्डेले भने, ‘अहिलेसम्म सुरक्षित पनि छौं।’

कतिले डोरी सँगसँगै प्लास्टिकसमेत बारेका छन्, ताकि ग्राहक र बिक्रेताबीच सिधा सम्पर्क नहोस्। धेरै पसलमा स्यानिटाइजर बोतल झुन्डिएका देखिन्छन्। आउने ग्राहकलाई बिक्रेता भित्रैबाट भन्छन्, ‘त्यो स्यानिटाइजर लगाउनुस् है।’

क्षेत्रपाटीका यी थोक पसलबाट देशभरका अस्पताल र मेडिकलमा औषधि आपूर्ति हुँदै आएको छ। निषेधाज्ञा बेला कुनै–कुनै औषधिको व्यापार कम भए पनि दीर्घरोगका बिरामीले नियमित प्रयोग गर्नुपर्ने औषधिको माग उस्तै छ।

रूघाखोकी, ज्वरो, टाउको दुखाइ र कोभिड रोकथामका लागि प्रयोग हुने औषधिको माग अत्यधिक बढेको छ। सिटामोलको त अभाव नै हुन थालेको पाण्डेले बताए।

‘कुनै औषधि प्रयोग गर्दा कोरोना जोखिम कम हुन्छ भनेर कसैले सुनायो भने सबैलाई त्यही चाहिन्छ। कसैले चाहिनेभन्दा बढी किनेर थुपार्ने प्रवृत्ति पनि छ। त्यसैले केही औषधिको बजारमा अभाव देखिएको छ,’ व्यवसायी पाण्डेले भने।

अघिल्लो लकडाउनमा मास्क, पन्जा, पिपिइ लगायत स्वास्थ्य सुरक्षा सामग्रीकै अभाव थियो। कालोबजारी पनि बढेको थियो। केही व्यवसायीले चर्को शुल्कमा बेच्न लुकाएर राखेको अवस्थामा मास्क, पन्जा लगायत सामग्री प्रहरीले बरामद गरेको थियो। एउटा सर्जिकल मास्कलाई ५० रूपैयाँसम्म तिरेर किन्नुपर्ने बाध्यता थियो।

 

अहिले भने स्वास्थ्य सुरक्षाका थुप्रै सामग्री नेपालमै उत्पादन हुन थालेका छन्। यसले बजार अभाव हुन नपाएको व्यवसायी बताउँछन्।

‘अघिल्लो वर्ष लकडाउनमा पिपिईको हारालुछ थियो। यसपालि मानिसलाई डर नभएको हो वा नचाहिएको हो, पिपिइको त्यति माग छैन,’ क्षेत्रपाटीमै सर्जिकल मास्क तथा पिपिइ बेच्दै आएका व्यापारी दिनेश खड्काले भने, ‘अस्पतालहरूबाट पनि अघिल्लोपटक जस्तो माग आएन। मास्क भने सबैलाई अनिवार्य चाहिने भएकाले धेरै माग छ।’

हामी आइतबार उनको पसल पुग्दा केही थान पिपिइ झुन्डिएका थिए। भुइँमा केही सर्जिकल मास्कहरू देखिन्थे। छेउमा एक महिला बसेकी थिइन्। ग्राहक थिएनन्। पसल उनले भनेजस्तै सुनसान थियो। निषेधाज्ञामा कडाइ गरेपछि पिपिइका ग्राहक केही मात्रामा घटेको उनले बताए।

क्षेत्रपाटीका यी औषधि पसलमा कहिलेकाहीँ असाध्यै भीड लाग्छ। भीड बढेर भौतिक दुरी कायम गराउन गाह्रो हुने बिक्रेता बताउँछन्। खासगरी बिहान ११ देखि २ बजेसम्म ग्राहकको संख्या बाक्लो हुन्छ। त्यसपछि क्रमशः घट्दै जान्छ।

अरू बेला ग्राहक कम हुँदा चिन्ता मान्ने व्यवसायीहरू अचेल भीड बढी भए डराउँछन्। साँझतिर ग्राहक घट्दै गएपछि उनीहरूको मन सन्चो हुन्छ।

‘सबैले सबैसँग डराउनुपर्ने बेला छ। ग्राहकहरू आफैंले पनि जोखिम छ भन्ने बुझ्नुपर्छ। कोरोना जोखिमबारे थाहा नभएका त यहाँ कोही आउनुहुन्न,’ एक व्यवसायीले भने।

साभारः सेताेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर