फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब जस्ता ठूला सामाजिक सञ्जालहरूमाझ एउटा नयाँ नाम थपिएको छ – क्लबहाउस।

पछिल्लो केही हप्तादेखि ट्रेन्डिङमा रहेको क्लबहाउस के हो?

क्लबहाउस यस्तो प्लेटफर्म हो जहाँ प्रयोगकर्ताले बोलेर र सुनेर अन्तर्क्रिया गर्न सक्छन्। आमन्त्रित व्यक्तिहरू मात्र जोडिन मिल्ने यो भ्वाइस च्याट एप सन् २०२० मा नै बजार भित्रिएको हो। प्रारम्भिक दिनमा क्लबहाउस आइओएस प्रयोगकर्ताहरूमाझ मात्र सीमित थियो। सन् २०२१ मा एन्ड्रोइड प्रयोगकर्ताहरूमाझ पनि पुगेपछि यसले लोकप्रियता पायो।

यो एप अल्फा एक्सप्लोरेसन कम्पनीका पल डेभिसन र रोहन सेथले मिलेर बनाएका हुन्। सुरूआतमा संस्थापकहरूले पोडकास्ट बनाउने उद्देश्यले यसको नाम ‘टक-शो’ राखेका थिए। पछि यसलाई पुनः नामकरण गरेर क्लबहाउस राखिएको हो।

यसको मुख्य फिचर भनेको भर्चुअल रूम हो। यी रूमहरू तीन प्रकारका हुन्छन्। ओपन रूम, क्लोज्ड रूम र सोसियल रूम।

ओपन रूममा जो कोही प्रयोगकर्ता जोडिन मिल्छ। सेटिङ परिवर्तन नगरेसम्म सबै रूम ओपन नै हुन्छन्। सोसियल रूममा भने वक्ताका फलोअरहरू मात्र जोडिन मिल्छ। त्यसैगरी, क्लोज्ड रूम वा प्राइभेट रूममा भने आमन्त्रित प्रयोगकर्ताहरू मात्रै जोडिन मिल्छ।

यी रूममा वक्ता, श्रोता र आयोजक हुन्छन्। रूम निर्माण गर्ने व्यक्ति आयोजक हुन्छ। आयोजकले आफ्नो श्रोतालाई वक्ता बनाउन, म्युट गरिदिन, अनम्युट गरिदिन र वक्तालाई निस्कासन गर्न मिल्ने सुविधा हुन्छ। श्रोता वक्ता हुन चाहेमा हात उठाउने बटन थिची आयोजकलाई जानकारी गराउन सक्छ।
त्यसैगरी, ‘लिभ क्वाइट्ली’ भन्ने बटन थिचेर श्रोता सो रूमबाट निस्किन पनि सक्छन्।

यो एप सार्वजनिक भएलगतै कोभिड-१९ महामारी पनि बढ्दै गयो। तर महामारी बीच नै एपले अझ बढी लोकप्रियता कमायो। सन् २०२० डिसेम्बरसम्ममा क्लबहाउसका प्रयोगकर्ता ६ लाख पुग्यो। प्रमुख कार्यकारी अधिकृत पल डेभिसनका अनुसार जनवरी २०२१ सम्ममा क्लबहाउसको साप्ताहिक प्रयोगकर्ता करिब २० लाख पुग्यो।

प्रख्यात टेस्लाका संस्थापक इलोन मस्क र फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि क्लबहाउसमा देखिए। उनीहरूको उपस्थितिले यस एपको प्रयोगकर्ता र डाउनलोड दर झनै बढ्यो।

क्लबहाउसको एउटा रूममा एक पटकमा ५ हजार प्रयोगकर्ता जोडिन मिल्छ। उस्तै विशेषता भएको टेलिग्राममा भने जति जना पनि जोडिन पाउँछन्। पाँच हजारभन्दा धेरैसँग एकैपटक जोडिन परेमा टेलिग्राम राम्रो विकल्प हुन सक्छ। त्यस्तै, ट्विटरले पनि क्लबहाउसलाई चुनौती दिँदै ट्विटर स्पेस ल्याएको छ। तर स्पेसमा आयोजक बन्न कम्तीमा ६ सय फलोअर चाहिने हुनाले प्रयोगकर्ताले क्लबहाउस नै रूचाएका छन्।

क्लबहाउसको निर्देशिका अनुसार यो एपभित्र हुने कुराकानी रेकर्ड गर्न, पुनः उत्पादन गर्न, बिना अनुमति सम्प्रेषण गर्न निषेध गरिएको छ। यस्तो क्रियाकलाप गरेको पाइएमा प्रयोगकर्ताको अकाउन्ट ब्लक हुने वा कारबाहीमा पर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

नियम उल्लंघन भएको वा नभएको जाँच गर्न क्लबहाउसले सबै रूमको अडिओ रेकर्ड गरेर राख्छ। यसरी अडिओ रेकर्ड गर्दा गोपनियता नरहेको कुरा लिएर आलोचना पनि आएका छन्। चीन, जोर्डन, ओमन जस्ता मुलुकमा झन् यस एपको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

यसको एउटा सीमितता भनेको आमन्त्रण आएपछि मात्र एप चलाउन मिल्ने सुविधा छ। कोही नयाँ प्रयोगकर्ता हुन चाहेमा पुरानो प्रयोगकर्ताले आमन्त्रण गर्नुपर्छ। आमन्त्रण गरेपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राखेर मात्रै यो एप लगइन गर्न मिल्छ। तर प्रति प्रयोगकर्ता ५ वटा निमन्त्रणा कोड हुन्छ। यो सकिएको खण्डमा अरूलाई आमन्त्रण गर्न मिल्दैन। अरू निमन्त्रणा कोड किन्न चाहेमा इबेबाट ४ सय अमेरिकी डलरमा किन्न पाइन्छ।

बढ्दो प्रयोगकर्तालाई राम्ररी व्यवस्थापन गर्न यस्तो सुविधा राखिएको कम्पनीको दाबी छ।

फेसबुक, स्ल्याक, रेड्डिटले पनि क्लबहाउसलाई चुनौती दिँदै यस्तै फिचर ल्याउने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर