बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्रमणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् ।

उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

५२ वर्षका दाजुको कोभिड–१९ संक्रमणबाट मृत्यु भएपछि मानबहादुरको समूह नर्स र डाक्टरहरूमाथि आक्रमणमा उत्रिएको हो । आक्रमणबाट बच्न चिकित्सक र नर्सले एक तला माथिबाट हाम्फालेर ज्यान बचाएका थिए ।  डा. चन्द्रबहादुर साहु, नर्सहरु अश्विनी गुरुङ, बन्दना श्रेष्ठ र सदीक्षा गैरेले हामफालेर बाँचेको बताएका छन् ।

कोभिड–१९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका नर्स र डाक्टरलाई कुट्ने एमाले कार्यकर्ता मानबहादुरको विगत राम्रो छैन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका रावत यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । ०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री निकट भनेर चिनिने मानबहादुर पहिले तुलसीपुर उप–महानगरपालिकाको जागिरे थिए । तुलसीपुर उप–महानगरका कार्यपालिका सदस्यलाई अभद्र व्यवहार गरेपछि उनलाई नगरपालिकाले निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर