विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न संस्थालाई वितरण गरिएको छ।

शनिबार उनको निजी आवासमा परिवारले एक कार्यक्रम गरी उक्त रकम हस्तान्तरण गरेको हो।

उनको उपचार गर्नको लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ संकलन भएको परिवारले बताएको छ। त्यसमध्ये २४ लाख २० हजार  ३ सय ४९ रूपैयाँ उपचारको लागि खर्च भएको  र बैंक तथा रकम स्थानान्तरण गर्नको लागि १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको परिवारले बताएको छ।

उपचार गरी बाँकी ४२ लाख ५२ हजार २ सय रूपैयाँ सात संस्थालाई बाँडिएको हो।

कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गरिरहेका संस्थाहरूलाई उक्त रकम प्रदान गरिएको परिवारले बताएको छ।

ती संस्थाहरूमा भोरे नेपाल, सर्लाही (रु २,५०,०००); हार्टबिट, काठमाडौं (रु २,००,०००); मधेश ह्युमन राइट्स होम, कपिलवस्तु (रु २,०२,२०१.७२); नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ (रु ५,००,०००); राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँ (रु १५,००,०००); ‌ओडा फाउन्डेसन, कालिकोट (रु १०,००,०००); तथा सानो पाइला, वीरगन्ज (रु ६,००,०००) रहेका छन्।

यी संस्थाहरूले बढीमा छ महिनामा आफ्नो काम सकाउनेछन् र उनीहरूको कामको अनुगमन गर्नलाई तोकिएका सम्पर्क व्यक्तिहरूले उक्त समयभित्र एउटा अनुगमन प्रतिवेदन पनि सार्वजनिक गर्ने बताइएको छ।

कार्यक्रममा उज्वल थापाकी श्रीमती एरिका अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिँदै प्रदान गरिएको सहयोग रकमले समस्यामा रहेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन्।

गत जेठ १८ गते थापाको उपचारको क्रममा निधन भएको थियो। थापालाई कोरोना र निमोनिया देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर