लुम्बिनी — लुम्बिनीका धार्मिक र पर्यटकीय क्षेत्र फेरि बन्द भएका छन् । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढेपछि विहार, मन्दिर, गुम्बा, चैत्य र गोन्पा बन्द गरिएको हो । गत वर्ष पनि संक्रमणकै कारण बन्द भएका यी क्षेत्र मंसिर ५ गतेबाट खुला गरिएको थियो ।
लुम्बिनीस्थित जर्मनीको तारा फाउन्डेसन गुम्बा । तस्बिर : मनोज पौडेल
थेरवादी सम्प्रदायको विहार रहेका पूर्वी क्षेत्रमा रोयल थाई मोनास्ट्री, म्यान्मार गोल्डेन टेम्पल र श्रीलंका महाविहार बन्द भएका छन् । यी तीनवटै विहार त्यहाँको सरकारको प्रतिनिधित्व गर्दै यहाँ रहेका हुन् । कम्बोडियन मोनास्ट्री, महाबोधी सोसाइटी मन्दिर, अन्तर्राष्ट्रिय भिक्षुणी संघ र नेपाल थेरवाद मन्दिर पनि बन्द भएका छन् । ‘मन्दिर बन्द गर्दा निकै दुःखी बनेका छौं,’ रोयल थाई मोनास्ट्रीका भिक्षु फ्रा थिरापोङ थिरापन्योले भने, ‘अवस्था सजिलो भएपछि फेरि सुचारु गर्छौं ।’
संक्रमण बढ्दै गएकाले मन्दिर परिसर सुरक्षित र संक्रमितविहीन राख्न तत्काल यहाँका धार्मिक र सांस्कृतिक क्षेत्र बन्द गर्न लुम्बिनी विकास कोषसँग अनुरोध गरिएको जर्मनीको तारा फाउन्डेसनका व्यवस्थापक तारा कट्टेलले बताए । तर, कोषबाट कुनै निर्देशन नआएपछि आफैं मन्दिर बन्द गरेको उनले सुनाए । लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य भएको हुँदा उच्च जोखिममा रहेकाले उत्तिकै संवेदनशील भई मन्दिर र विहारलाई सतर्कता अपनाउन कोषले तत्काल निर्देशन दिनुपर्ने भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले बताए ।
दोस्रो चरणमा मायादेवी मन्दिर भने बन्द गरिएको छैन । मन्त्रालयबाट निर्देशन नआएकाले खुला रहेको कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए । ‘दुई–तीन दिनमा पर्यटनमन्त्री भानुभक्त ढकाल यहाँ आउने कार्यक्रम छ,’ उनले भने, ‘त्यसपछि केही निर्णय हुन सक्छ ।’