टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा पौडिएकी हुन्।

यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।

बुधबार सय मिटर फ्रिस्टायलको पहिलो हिटमा पौडीएकी गौरिका चार खेलाडी मध्ये तेस्रो भइन्। शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए। गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन्।

यो स्पर्धामा कुल ५१ खेलाडीले  प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे।

सय मिटर फ्रिस्टायलको सर्ट कोर्षको (२५ मिटरको स्वीमिङ पुल) राष्ट्रिय कीर्तिमान  पनि गौरिकाको नाममा छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए।

सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा पर्सी शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

यसअघि जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।

गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।

शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।

कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर