ढुवानी व्यवसायीले आफ्नो स्वार्थ पूर्तिका लागि नेपाल आयल निमगको निर्णय नै परिवर्तन गरिदिएका छन्।

भारतको बरौनीबाटभन्दा सिलिगुढीबाट सस्तो पर्ने भन्दै त्यहीँबाट आयात थालेको नेपाल आयल निगमले ढुवानी व्यवसायीको दबाब थेग्न नसकेपछि फेरि बरौनीबाट पनि इन्धन ल्याउन थालेको छ।

नजिकैबाट ढुवानी गर्दा वार्षिक करोडौं रुपैयाँ खर्च कटौती हुने भएकोले सिलिगुढीबाटै ढुवानी गर्ने निर्णय आयल निगमले गरेको थियो।  बरौनीबाट भन्दा सिलिगुढीबाट आयात गर्दा झन्डै ५ सय किलोमिटर दुरी छोटो हुन्छ। अर्कोतर्फ सिलिगुढीबाट इन्धन आयात गर्दा बीच बाटोमा ट्यांकर चालकले गर्ने बदमासी र चोरीजस्ता समस्या पनि कम हुने भएकाले निगमले सिलिगुढीबाट ढुवानी गर्ने विषयलाई प्राथमिकतामा राखेको निगम स्रोतको भनाइ छ।

निगमले खर्च कटौती गर्ने गरी गरेको यो निर्णयबाट ढुवानी व्यवसायी सन्तुष्ट थिएनन्।

‘एकातिर दैनिक कम्ती संख्याका गाडीले मात्रै इन्धन ल्याउने र दुरी पनि छोटो भएपछि उनीहरूले दबाब दिन थालेका थिए’, निगम स्रोतले सेतोपाटीसँग भन्यो, ‘ढुवानी व्यवसायीको दबाबमा अहिले फेरि बरौनीबाट पनि आयात थालेका हौं।’

धेरै वटा गाडीमा ल्याउन पाइने, लामो दुरीजस्ता कारणले व्यवसायीको रोजाइ बरौनी नै हुने गरेको निगम स्रोतको भनाइ छ।

वार्षिक रूपमा ठूलो खर्च जोगिने भन्दै नेपाल आयल निगम विराटनगरले भारतको बरौनीबाट इन्धन आयात कटौती गरेको थियो। बरौनीबाट ल्याउनुभन्दा पश्चिम बंगालको सिलिगुढीबाट ढुवानी गर्दा दुरी छोटो हुने र त्यसबाट निगमको ढुवानी खर्च जोगिने भएकोले निगमले भारतको सिलिगुढीबाट इन्धन आयात गर्न थालेको थियो।

ढुवानी व्यवसायीको दबाबपछि निगमले बरौनीबाट पनि ल्याउन थालेको हो।

बरौनीबाट दैनिकजसो कम्तीमा ३० ट्यांकर इन्धन ल्याउने निगमले  असार १८ गतेदेखि बरौनीबाट आयात बन्द गरी सिलिगुढीका लागिमात्र पिडिओ जारी गर्न थालेको थियो।

सिलिगुढीमा ट्यांकर पार्किङको सुविधा नभएको, काँकडभिट्टामै पार्किङ गरेर राख्नु पर्ने र आवश्यकता अनुसार इन्धन आयात नहुँदा निगमलाई पनि माग र आपूर्तिको सन्तुलन मिलाउन गाह्रो परेको भन्दै व्यवसायीले दबाब दिएपछि निगमले बरौनीबाट पनि आयात जारी राखेको हो।

अहिले सिलिगुढीबाट दैनिक सरदर १५ ट्यांकर इन्धन आइरहेको र त्यसले बजारको दैनिक माग धान्न गाह्रो परेको निगम प्रमुख नकुल  भण्डारीले बताए।

‘ढुवानी व्यवसायीको दबाबले होइन, बजारको माग र आपूर्तिको सन्तुलन मिलाउन बरौनीबाट आयात जारी राखेका हौं’, उनले दाबी गरे, ‘व्यवसायीले कुनै दबाब दिएका छैनन्।’

निगम सरकारी संस्थान भएका कारण उसले नाफाघाटा मात्रै हेर्न नमिल्ने, माग आपूर्तिको सनतुलन पनि मिलाउनु पर्ने दाबी गरे।

‘बंगालको नियम अनुसार इन्धन ल्याउँदा माग नधान्ने भयो त्यसैले बरौनीबाट पनि ल्याउनै पर्ने भयो’, उनले भने।

निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयले यसै साताबाट हप्तामा २० देखि २५ गाडी इन्धन बरौनीबाट ल्याउन थालेको छ।

ढुवानी व्यवसायीको दबाब र निगमको आपूर्ति व्यवस्थापन मिलाउने नाममा बरौनीका लागि हप्तामा एक दिन बढीमा २५ वटा गाडीलाई पीडिओ जारी गर्ने सहमति भएको ढुवानी व्यवसायीले बताएका छन्।

Source: Setopati

प्रतिक्रिया

सम्बन्धित खवर