मोरङको केराबारी गाउँपालिकास्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्दा मिस फायर भएर साथीको मृत्यु भएको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ मा केराबारी गाउँपालिका वडा नम्बर–३ घर भएका ३२ वर्षीय हस्तबहादुर राईको दाहिने कुममा गोली लागेर मृत्यु भएको थियो ।
केराबारी गाउँपालिका घर भएका गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुरको मृत्यु भएको अनुसन्धानबाट खुलेको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । हत्यामा संलग्न गजेन्द्र र रुविन लिम्बुलाई प्रहरीले वैशाख ९ मा पक्राउ गरेको थियो । बुधवार थप ४ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए ।