जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकालेको विज्ञप्ति बाहिर आइरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव प्रदेश नम्बर २ को सरकारमा पर्ने भएको छ।

यादवनिकट नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतको सरकारलाई ठाकुर निकट सांसदहरूले समर्थन फिर्ता लिने सम्भावना बढेको छ।

अध्यक्ष ठाकुर पक्षका नेता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा छन्।

अर्का अध्यक्ष यादव भने प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अगाडि बढाउनुपर्नेमा छन्। बाबुराम भट्टराई र यादव पक्षका १२ सांसदले देउवालाई भावी प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

पार्टी फुटनजिक पुगेपछि प्रदेश नम्बर २ को सरकार ढल्ने निष्कर्षसाथ यादवले सत्तासहकार्यका लागि कांग्रेसको साथ खोजेका छन्।

यादवले सभापति देउवा र उपसभापनि विमलेन्द्र निधिलाई भेटेर प्रदेश नम्बर २ मा राउतकै सरकारमा सहभागी हुन आग्रहसमेत गरिसकेका छन्।

निधिलाई उनको काठमाडौं वानेश्वरस्थित निवासमै शुक्रबार बिहान पुगेर तीन घण्टा कुराकानी गरेपछि यादव जनकपुर लागेका छन्। यादवले बिहान ९ देखि १२ बजेसम्म निधिसँग कुराकानी गरेका थिए।

अध्यक्ष यादवले उपसाभपति निधिसँग मुख्यमन्त्री राउतकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने गरी कांग्रेसको समर्थन खोजेका छन्।

‘अहिलेकै सरकारलाई निरन्तरता दिऔं, तपाईंहरूको साथ चाहियो,’ यादवले निधिसँग राखेका प्रस्तावबारे निधिको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो, ‘मन्त्रीहरू लिएर अहिलेकै मुख्यमन्त्रीको नेतृत्वमा सरकार पुनर्गठन गरौं। यो गर्दा नै राम्रो हुन्छ।’

यसबारे निधिले पार्टीमा छलफल गर्नुपर्ने जवाफ दिएका छन्।

मुख्यमन्त्री कांग्रेसलाई दिने गरी सत्तासहकार्य गर्न सकिने निधिको भनाइ थियो।

‘तपाईंहरूले तीन वर्ष सरकार चलाउनुभयो, अब कांग्रेसलाई छाड्नुस्। कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाऔं,’ निधिले भने।

यो प्रस्तावमा यादवले मुख्यमन्त्रीभन्दा पनि अहिलेकै सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरेका थिए।

जसपा भिन्न भएको खण्डमा प्रदेश नम्बर २ मा कुनै पनि दलको एकल सरकार बन्ने अवस्था छैन।

अहिले प्रदेश सभामा एक सय ४ जना सदस्य छन्। प्रदेशमा जसपाका ५५ जना सांसद छन्। जसपा भिन्न भएको अवस्थामा ठाकुर र यादवका पक्षमा कति जना सांसद रहन्छन् अहिले नै यकिन छैन।

तर तत्कालीन संघीय समाजवादी फोरमबाट ३० जना र राजपाबाट २५ जनाले चुनाव जितेका थिए।

यहाँ नयाँ सरकार बनाउन बहुमतका लागि ५३ जना चाहिन्छ। प्रदेश नम्बर २ मा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ८ जना सांसद छन्।

यहाँ नेकपा एमालेका २१ र नेपाल संघीय समाजवादीको पनि प्रदेशमा १ सिट छ।

अहिलेकै मुख्यमन्त्री राउतको नेतृत्वको सरकार बनाउने हो वा कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने हो भने पनि तीन दल मिल्नुपर्ने देखिन्छ।

जसपाको यादव पक्ष, कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेमा नयाँ सरकार बन्छ। साथै प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले पनि यहाँ नयाँ सरकार बनाउन जमर्को गरिरहेको छ।

अध्यक्ष यादवले केन्द्रमा ओलीइतर देखिएका विपक्षी दलहरूकै गठबन्धनलाई प्रदेश नम्बर २ मा पनि निरन्तरता दिनुपर्ने बताइरहेका छन्।

साभारः सेताेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर