काभ्रेको मन्डन देउरालीमा जन्मेर हुर्केकी म। राम्रो स्कुलको अभावमा पढ्नको लागि बाध्यताले काठमाडौं नै आउनु पर्यो। मामाघर मै बसेर पढें।

मामाघर पनि के भन्नु? घर नभई भाडाको तीन कोठाको फ्ल्याट थियो। झन्डै एक दशक अघिको मामामाइजूको त्यो परिस्थिति अझै विद्यमान छ।

छ महिना/वर्ष दिनमा फ्ल्याट मात्र फेरिन्छन्। भक्तपुरमा चार आना जग्गा बडो मुस्किलले जोड्नु भएको थियो मामाले। त्यसको लागि पनि मेरै आमाबुबाले आर्थिक सहयोग गर्नुभएको हो। त्योभन्दा बढी मामाले केही प्रगति गर्न सक्नु भएन।

सरकारी जागिरे भएकोले खान लाउन दुःख थिएन। प्रायःजसो रासनका सामानहरु आमाले गाउँबाटै पठाउनु हुन्थ्यो। मेरो पढाइको सम्पूर्ण खर्च पनि समयमै मामालाई पठाउनु हुन्थ्यो।

उहाँलाई पनि छोरीलाई काठमाडौं जस्तो महंगो ठाउँमा खाने बस्ने प्रबन्ध मिलाउन गाह्रै भएको हुँदो हो। सित्तैंमा त आफ्नै भाञ्जाभाञ्जीलाई पनि कसले पाल्न सक्छ र? त्यसैले पनि होला मौसमी तरकारी, फलफूल, दाल, चामल, घिउ आदि आमाले बेला बेलामा पठाइरहनु भएको हुन्थ्यो।

मलाई थाहा भएसम्म धेरैजसो त रासनका सामान किन्नु नै पर्दैन थियो। तर माइजूले मेरी आमाको यो सहयोगलाई त्यत्ति महत्व दिए जस्तो कहिल्यै लागेन। यही सामान किनेर खानु परेको भए बल्ल उहाँलाई महशुस हुन्थ्यो होला जस्तै लाग्थ्यो।

म काठमाडौं आउँदा मामाको एउटा छोरा मात्र थियो। आएर कक्षा आठमा भर्ना भएकी थिएँ। तर इच्छा हुँदाहुँदै पनि राम्ररी पढ्न कहिल्यै पाइनँ। दुई वर्षको भाइलाई ख्वाउने, पिलाउने, खेलाउने जिम्मा मेरै काँधमा परेको थियो।

धेरैजसो साँझको खाना पनि मैलै नै बनाउनु पर्थ्यो। बिहान घरबाट चाँडै नै निस्कनु पर्ने हुनाले खाना बनाउनु त पर्दैन थियो। तर चिया नास्ताको प्रबन्ध गरेर मात्र स्कुल जान पाउँथेँ। स्कुल जाँदा पनि सधैं हतारमा जानु पर्ने।

राम्रो शिक्षादिक्षाको लागि आमाबाबुको काख छोडेर काठमाडौं आएकी म। तर पढ्ने समय निकाल्नै धौँ धौँ। धेरैजसो त आधा रातसम्म होमवर्क गरिरहेकी हुन्थें।

फेरि रातभरि बत्ती बल्यो भनेर माइजूले बिहानै केही न केही सुनाइहाल्नु हुन्थ्यो। वाक्क भएपनि मौनता साँध्नु नै बाध्यता बनेको थियो। फर्केर गाउँ जानु भनेको आमाबाबुको सपना चकनाचुर पार्नु जत्तिकै थियो।

जसोतसो आठ कक्षा पास गरेर नौ कक्षामा पुगें। माइजूको गर्भपतन भएछ। गर्भपतन भयो या गराइयो बुझ्नलाई असमर्थ थिएँ। तर पूर्णरुपमा स्याहार गर्न भनियो। आफ्नो पढाइलाई प्राथमिकतामा राख्न मैले सक्दै सकिनँ यो पटक पनि।

दश कक्षामा पढ्दापढ्दै फेरि मामाको घरमा छोरीको जन्म भयो। एसएलसी जस्तो महत्वपूर्ण जाँचमा पनि खासै तयारी गर्न पाइनँ। मामालाई जागिरबाट फुर्सद मिल्दैन थियो।

सुत्केरी माइजूको लागि खाना बनाउँदै र भाइबहिनीको रेखदेखमै मेरो समय बित्थ्यो। पढ्ने असीमित चाहना हुँदाहुँदै पनि समयको पावन्दी बीचमा आइदियो। धन्न! एसएलसीमा प्रथम श्रेणी भने आएछ।

गाउँमा कलेज पढ्ने वातावरण थिएन। बरु छिट्टै विवाह गरिदिने प्रचलन थियो। दिदीको पनि बिहे भइसकेको थियो। दाइ अष्ट्रेलिया हुनुहुन्थ्यो। राम्रो कलेजमा भर्ना भएर राम्रोसँग पढ्न सम्झाउनु हुन्थ्यो।

आमाबाबुलाई पनि कान्छी छोरीले केही गर्छे भन्ने ठूलो आशा भरोसा थियो। त्यसैले पनि एघार बाह्र कक्षा त झन् त्यहीं बसेर पढ्नु पर्ने मेरो विवशता थियो। आमालाई सत्य कुरा अलिअलि त भनेको पनि थिएँ। पढ्ने समय नपाएको कुरा। तर उहाँले पनि चुपचाप सबै सहेर बस्ने सुझाव दिनुभयो।

अब त झन् मेरो दिनचर्या भाइबहिनी हेरेरै बित्न थाल्यो। बिहानको क्लास सकेर घर आउँदा बाह्र बजिसकेको हुन्थ्यो। खाना पनि कहिल्यै गतिलो स्वादको खान पाउँदिन थिएँ मैले। स्वादको त के कुरा? खानेकुरा हेर्न पनि लायक नहुने।

आलुको अचार मेरो सबैभन्दा मन पर्ने भोजन। तर माइजूले बनाएको आलुको अचार त हेर्दै वाक्क आउने। त्यस्तो तील डढेर कालो भएको अचार देखेर आलुको अचार खानै छोडिदिएँ।

घर सधैं असरल्ल हुन्थ्यो। भाइबहिनीले जथाभावी छरेका फोहर सफा गर्दै दिन बितिहाल्थ्यो। फेरि मलाई देख्ने बित्तिकै गरिरहेको काम पनि मलाई नै जिम्मा लगाइहाल्ने उहाँको बानी थियो। अनि दशथोक कामको बहानामा बच्चाहरु छोडेर हिडिँहाल्नु हुन्थ्यो।

एकदिन साथी श्रेया मसँगै कलेजबाट घर आएकी थिई काम विशेषले। घरको हालत यस्तो थियो कि म त लाजले भुतुक्कै भएँ। कोठामा छिर्ने बित्तिकै उसले नाक खुम्च्याइ।

भोलिपल्ट कलेजमा उसले सोधी, माइजू दिनभरि के गरेर बस्नुहुन्छ भनेर। कोठा गनाएर बस्नै भएनछ उसलाई। भाइबहिनीका पिसाब र लुगाकपडा साह्रै गनाएछन्। सधैं सँगै बसेकाले मलाई बानी भएछ क्यारे।

सरसफाइ पटक्कै नगर्ने माइजूको बानी मलाई पहिले नै थाहा थियो। तर आज श्रेयाले धेरै कुरा बताई। कता-कता विश्वास लाग्यो। किनकि कुरा त सही नै थियो।
श्रेयाले भन्दै गई-

‘एक्काइसौं शताब्दीमा नारीहरु कति क्रियाशील हुन्छन्। थाहा छ तिमीलाई, मेरो ममी त स्कुलमा पढाउनु हुन्छ। म जन्मनुभन्दा पहिलेदेखि नै मेरो ममी आफ्नै खुट्टामा उभिनु भएको हो। म र मेरो भाइको हेरविचारमा पनि उहाँले कहिल्यै केही कमी गर्नु भएन।

सरसफाइमा त यति ध्यान दिनुहुन्छ कि उहाँ घरमा भएको कुरा त मूल ढोकाबाटै थाहा हुन्छ। यसको बाबजुद गार्डेनिङमा पनि सौख छ उहाँको। तर तिम्रो माइजू देखेर त छक्क परें म। न जागिर न सरसफाइ। केही कुरामा पनि सीप नहुने हुन्छ त? अरु केही नजाने पनि त्यो भाइबहिनीलाई त सफासुग्घर राखे हुन्थ्यो नि।’

आजसम्म यी कुराहरुलाई यसरी गहिरिएर सोचेकै थिइनँ मैले। माइजूको अल्छी बानी छ भन्ने त बोध भएकै हो। तर यसरी कुनै कुरामा पनि रुचि नभएको त याद नै गरेकी रहेनछु।

घरको काममा यत्तिको लापरबाही गर्दा पनि मामाले केही नभन्नु भएको देख्दा अचम्म लाग्थ्यो। यसबाहेक पनि माइजूका थुपै्र नराम्रा बानीहरु थिए। उहाँ सधैं अरुको कुरा काटेर बस्न मन पराउनु हुन्थ्यो।

एकजना छिमेकी आन्टी हुनुहुन्थ्यो, आज्ञा। बैंकको कर्मचारी। उहाँको श्रीमान र मेरो मामा एउटै अफिसमा काम गर्नूहुँदो रहेछ। अफिसको चिनापर्ची पछि उहाँले नै आफ्नो घरनजिक फ्ल्याट खोजिदिनु भएको रहेछ।

तर म काठमाडौं आउँदासम्म उहाँहरु त्यहाँबाट अरु तीन ठाउँमा सरिसक्नु भएको थियो। आफूलाई अप्ठ्यारो पर्दा सहयोग गरेको हो उहाँहरुले। तर ती आन्टीप्रति कृतज्ञ हुनुको सट्टा अचम्मको जलन देख्थें म मेरी माइजूमा।

आफू भाडामा बसेको हो तर आफ्नै घर, चार पांग्रे साधन अनि जागिर भएकी आन्टीसँग प्रतिस्पर्धा गर्ने माइजूको एक पित्को हैसियत थिएन। तर पनि माइजू भित्रभित्रै जल्नु हुँदो रहेछ। त्यसैले उहाँसँग अघोषित प्रतिस्पर्धा मै उत्रिनु भएको रहेछ।

मामा सरहकै ओहोदामा ती अकंल भएकोले पनि बराबरी गर्न खोजिएको होला। तर माइजू न त उहाँ जत्तिकै शिक्षित हुनुहुन्थ्यो न त रोजगार। देख्नमा पनि जीउडाल नमिलेकी भद्दा अनि उमेरभन्दा बढी जस्तो देखिनु हुन्थ्यो।

आज्ञा आन्टी चट्ट परेकी गोरी अनि मृदुभाषी हुनुहुन्थ्यो। प्राइभेट बैंकको जागिरे भएकोले घर बस्ने त्यत्ति फुर्सद पाउनु हुन्नथ्यो। तर साधारण नै भएपनि आफ्नो घर सधैं सफा राख्नुहुन्थ्यो रे।

वरिपरिका मान्छेले तारिफ गरेको मैले सुनेकी थिएँ। एक छोरी मात्र भएपनि त्यसैमा सन्तोष मान्नु भएको रहेछ। सानी छोरीलाई सफा कपडाहरु पहिर्‍याइदिनु हुन्थ्यो। अफिस जाँदा आफू पनि छरिता कपडा लगाएर स्मार्ट भएर जानुहुन्थ्यो।

उहाँको व्यक्तित्वमै एक प्रकारको तेज पाउँथें म। कामकाजी शिक्षित महिला भएकाले पनि होला उहाँका शब्द शब्दमा आत्मविश्वास झल्किन्थ्यो। छोटकरीमा भन्नु पर्दा आन्टीबाट छोटो समयमै म साहै प्रभावित भएकी थिएँ।

यी नै विशेषताले हुनुपर्छ माइजू उहाँलाई त्यत्ति रुचाउनु हुन्नथ्यो। दिनभरि छरछिमेकमा गएर यताउताका मान्छेका कुरा गरेर दिन बिताउने आइमाइलाई उर्जाशील मान्छे मन परोस् पनि कसरी? जोसँग पनि उहाँकै कुरा काटेर समय बिताएको सुनिन्थ्यो।

फोनमा होस् या मान्छे भेट भएका बेला। मान्छे आफूमा केही गुण नभएपछि अरुको साह्रै आरिस गर्दो रहेछ। साँच्चै भनिएको रहेछ मान्छे जब कसैसँग आफूलाई तुलना गर्न सक्दैन तब त्यो व्यक्तिको कुरा काट्न थाल्छ भनेर।

कुरा काट्ने यो समय त भाइबहिनीका फोहर कपडा धोए पनि हुने नि! घर आँगन सफा गरेपनि त हुने नि! तर माइजूलाई न त घरायसी काममा नै रुचि थियो न त जागिर खाने क्षमता नै।

भाडामा बसेका मान्छेले घर फोहोर राखेपछि घरबेटीलाई रिस उठ्नु त स्वाभाविकै हो। यसैले पनि मामा-माइजूलाई दुवै चोटि विभिन्न बहाना बनाएर घर छोड्न भनिएको थियो। तर माइजूले कहिल्यै चेत्नु भएन। अझ ठूल्ठूला कुरा पो गर्नुहुन्थ्यो। आफूलाई के-के न ठान्नुहुन्थ्यो।

सुरुमा उहाँका कुरा सुनेर मलाई पनि आज्ञा आन्टी राम्रो लाग्न छोडेको थियो। किशोर अवस्था न हो। वयस्कका बोलीको प्रभाव छिट्टै परिहाल्ने। विशेषत आज्ञा आन्टीकै कुरा काटेपनि माइजूले अरु थुप्रै छिमेकीका बारेमा पनि नराम्रा कुराहरु गर्नुहुन्थ्यो।

बुझ्दै जाँदा त उहाँ त जसको बारेमा पनि नकारात्मक टिप्पणी गरिहाल्नु हुँदो रहेछ। ‘आफ्नो आङमा भैंसी पनि नदेख्ने अनि अरुको आङको जुम्रा पनि देख्ने’ उखान त उहाँले चरितार्थ नै पार्नु भयो।

ज-जसकोमा जानु हुन्थ्यो, नराम्रा कुरा नै बोकेर आउनु हुन्थ्यो। जहाँ सरेपनि आफ्ना घरबेटीका कुरा मात्र गर्नुहुन्थ्यो। उहाँ त अझ छिमेकका अरु घरमा भाडामा बस्नेहरुलाई पनि उनीहरुका घरबेटी विरुद्व उचाल्नु हुँदो रहेछ।

आफू कहीँ नटिक्ने भएकोले अरु भाडावाल पनि कुनै घरमा नटिकोस् भन्ने पो उद्देश्य रहेछ उहाँको। फोनमा उहाँ आफैले भनेको सुनेकी मैले। यति धेरै जाल र प्रपञ्च गर्ने बुद्धि कहाँबाट आएको होला उहाँलाई?

म त उहाँका कुरा सुनेरै छक्क पर्न थालें। श्रेयाले आँखा नखोलिदिएकी भए त म सधैं उहाँलाई सही देख्ने रहेछु। अनि बाँकी सबैलाई गलत। धन्न! बेलैमा उहाँका गलत रवैया र विचारहरु छुट्टाउन सक्ने भएँ।

उहाँले पनि चाहनु भएको भए कुनै रोजगारी मा लाग्न सक्नु हुन्थ्यो। आफ्नो खुट्टामा उभिएपछि आत्मविश्वासी हुन सक्नु हुन्थ्यो। बेकारमा अरुका कुरा काटेर आफ्नो वजन घटाउनु त पर्ने थिएन।

मामालाई पनि आर्थिक बोझ कम हुने थियो। स्वास्नी जागिरे भएपछि पुरुषहरुको प्रतिष्ठामा केही न केही बृद्वि हुने रहेछ भनेर त मैले आज्ञा आन्टी र अंकलको सम्मान देखेरै अड्कल काटिसकेकी थिएँ।

माइजूका यी नै आनीबानीहरु बुझ्दाबुझ्दै मेरो स्नातक तहको पढाइ सुरु भइृसकेको थियो। महिला भए पनि पढेर केही गर्नै पर्छ भन्ने मनमनै अठोट गरिसकेकी थिएँ। म कुनै पनि हालतमा माइजू जस्तो हुन चाहन्नथें।

उमेर बढ्दै गएपछि अनि वरिपरि हेरेरै धेरै कुरा बुझ्न सक्ने भएँ। आर्थिक रुपमा सबल हुनुका धेरै फाइदाहरु रहेछन्। घर, समाज, इष्टमित्रका बीच पनि छुट्टै इज्जत हुने रहेछ।

नचाहिने काममा समय खेर फाल्नु पनि नपर्ने रहेछ। आफूलाई इच्छा लागेका चीजबीज किन्न पनि पुरुषहरुसँग हात थाप्नु नपर्ने भइहाल्यो। अबको मेरो उद्देश्य एउटै भयो। आफ्नो खुट्टामा उभिने। त्यसका लागि पढाइ अत्यन्त जरुरी रहेछ।

भाइबहिनी स्कुल जाने भएपछि केही समय पनि बच्न थाल्यो। त्यो समयको भरपूर उपयोग गर्न थालें। माइजूका अनावश्यक गन्थन र अर्काका कुरा सुन्न चटक्कै छाडिदिएँ। त्यसपछि त दिमागमा सकारात्मक कुरा मात्र आउन थाले।

जब जब आँखा चिम्म गरेर सुनौलो भविष्यको कल्पना गर्थें, आज्ञा आन्टीकै छवि अघिल्तिर आउँथे। नजानिंदो पाराले उहाँ मेरो आदर्श भइसक्नु भएको रहेछ। मलाई उहाँले जति अरु कसैले प्रभाव पार्नै सकेन।

एकदिन कलेजबाट घर फर्कदैं थिएँ। बस कुरेको एक घन्टासम्म पनि बस पाइएन। त्यत्तिकैमा एउटा प्राइभेट गाडी मेरै अगाडि आएर रोकियो। कुनै केटाले जिस्काउन खोजेको हो कि झैं लाग्यो। त्यतातिर हेर्नै सकिनँ।

ठूलो स्वरमा हर्न बजेपछि हेरेको त आज्ञा आन्टी हुनुहुँदो रहेछ। उहाँले नै लिफ्ट दिएपछि त गाडी चढ्नै कर लाग्यो। उहाँ त पहिले स्कुटर चढ्नु हुन्थ्यो। अहिले आफैं गाडी हाँक्न थाल्नु भएको रहेछ।

आफ्नै कमाइ भएपछि त जे पनि गर्न सकिने रहेछ भन्ने गज्जबको उदाहरण थियो त्यो। लोग्नेको भर पर्नै नपरेपछि स्वतन्त्रता पनि पाइयो। आज्ञा आन्टीको सफलताले मलाई भित्रैदेखि फरक अनुभव भयो।

‘आन्टी, धेरै धेरै बधाई छ। हजुरले कति छिट्टै प्रगति गर्नु भयो। हजुरको सफलताको रहस्य के हो भनेर बताइदिनुहोस् न आज’ मैले सोधें।

जवाफमा उहाँले भन्नु भयो, ‘आफ्नो लक्ष्य निर्धारण समयमै गरेर त्यसमै लागि पर्नुपर्छ। अवरोध त जुन काममा पनि आउँछ। तर त्यस्तो अवरोधसँग डराउनु हुँदैन। अरुले के भन्छन् भनेर सोच्यो भने त अगाडि बढ्नै सकिंदैन।

सधैं सकारात्मक सोच राख्नु पर्छ। घरपरिवारलाई पनि भरपूर समय दिनु पर्छ। कहिल्यै समय खेर फाल्नु हुँदैन। केही न केही उपयोगी काम गरिरहनु पर्छ।’

आन्टीले कस्तो सही कुराहरु गर्नुभयो। पहिल्यैदेखिको मेरो आदर्श उहाँ। त्यो एकछिनको सहयात्रामा त उहाँले मलाई पूरै प्रभावित पार्नु भयो। एकैक्षणमा उहाँजस्तै कामकाजी सफल अनि सरल नारी बन्ने धोको पलायो मनमा।

उहाँसँग छुट्टिसकेपछि पनि ध्यान त्यतै गइरह्यो। मेरो मनले माइजू र आज्ञा आन्टीबीच तुलना गरिरह्यो। कहाँ अर्काको कुरा काटेर दिन बिताउने माइजू, कहाँ आज्ञा आन्टी जस्ती सकारात्मक श्रृजनशील महिला!

एक्लो आम्दानीले सारा घरखर्च, कोठाभाडा, भाइबहिनीको पढाइ खर्च आदिले मामा सधैं तनावमा भएको देख्थें। उहाँ त जवानीमै बुढो जस्तो पो देखिन थाल्नु भएको थियो। तर त्यो कुरा माइजूले कहिल्यै बुझ्नु भएन।

खालि अर्काको प्रगति देखेर डाहा मात्र गर्नुभयो। तर अंकल-आन्टीको जीवनस्तर उच्च हुनुको मुख्य कारण त आन्टीकै मेहनत र लगनशीलता मुख्य कारण थियो। आन्टीले आफ्नो पढाइको सदुपयोग गर्नुभयो।

आफूलाई समय, काल र परिस्थिति अनुसार ढाल्नुभयो। त्यसैले सबै कुरा सम्भव भयो। नत्र त एक्लो अंकलको कमाइले घर धान्न उहाँहरुलाई पनि मुस्किल हुने थियो। मामा-माइजूले जस्तै अभाव र सम्झौता गरेर जीवन बिताउनु पर्ने थियो।

घर पुगेपछि माइजूले ढिलो हुनाको कारण सोध्नुभयो। मैले पनि जे हो त्यही कारण बताइदिएँ। आज्ञा आन्टीको गाडीमा घर आएको सुनेपछि त माइजू कालोनिलो हुनु भयो। उहाँको प्रगतिको कुरा त सुन्नै सक्नु भएन। के-के भनेर बरबराउन पो थाल्नुभयो। उहाँको मुहारमा डाहा र जलनका भावहरु प्रष्टै देखिए।

मैले फेरि भनें, ‘मलाई त आज्ञा आन्टी मेरो आदर्श नै लाग्छ। म पनि पढाइ सकेर उहाँ जस्तै बैंकमा काम गर्नेछु। आफ्नै खुट्टामै उभिनेछु। अरुको कुरा गरेर समय फाल्ने छैन।

उहाँले मेहनत नगरेको भए अंकल एक्लैले उन्नति गर्न सक्नु हुँदैन थियो होला। मलाई त उहाँको लवाईखवाईदेखि बोल्ने तरिका पनि मन पर्छ। आफ्नै बलबुताले अगाडि बढ्ने प्रेरणा मिलेको छ आज मलाई उहाँबाट।’

मेरा वाक्यांश सक्किएका पनि थिएनन्, माइजू क्रोधित भइहाल्नु भयो। वर्षौंदेखि चलिरहेको शितयुद्धको प्रतिद्वन्दीको प्रशंसा आफ्नै भाञ्जीको मुखबाट सुन्नु पर्दा उहाँलाई पक्कै पनि सहन गाह्रो थियो।

तर मैले एक रत्ति पनि गलत बोलेको थिइँन। माइजू सधैं गलत मनसुवा राख्नुहुन्थ्यो आज्ञा आन्टीप्रति। आफूलाई सच्याउन जरुरी थियो उहाँले। त्यही उद्देश्यले पनि भनेकी थिएँ ती कुरा उहाँलाई।

त्यसपछिका दिनहरुमा पनि उहाँले आफूलाई सच्याउन खोज्नु नै भएन। बरु मप्रति वैरभाव राख्नु भयो। दिनदिनै निहुँ खाजेर मामालाई सुनाउन थाल्नु भयो।

मेरो स्नातकको अन्तिम वर्षको परीक्षा नजिक आउँदै थियो। राम्रो अंक ल्याउन जरुरी थियो। चाहेर पनि पढ्ने समय मिलिरहेको थिएन। त्यत्तिकैमा उचित सरसफाइ नगरेको भनेर चौथो घरबेटीले पनि कोठा सर्न भनेछन्।

खासमा माइजू आफै बढी बाठी हुनु भएको रहेछ। भाडामा बस्ने अर्को परिवारलाई ‘हामी त अन्तै सर्न लागेको, तपाईंहरु पनि सरिहाल्नुस्। यस्तो घरमा पनि के बस्नु?’ भनेर उचाल्नु भएको रहेछ।

उनीहरुले कुरा लगाइदिएछन्। अनि उल्टै माइजूलाई कोठा छोड्नु पर्ने अवस्था आइलाग्यो।

तर पछि त्यो सारा दोष ममाथि थुपार्नु भयो माइजूले। मलाई पनि परीक्षाको लागि तयारी गर्ने समय मिलिरहेको थिएन। मामा-माइजूसँग अलग्गिने नै विचार गरें।

आमालाई अलि अलि कुरा त अवगत नै थियो। उहाँसँग परामर्श गरेर एउटी साथीसँग उसको फ्ल्याट शेयर गरेर बसें।

राम्ररी पढ्ने मौका पाएँ। राम्रो प्रतिशतका साथ उतिर्ण पनि गरें। पढाइ पूरा गरेर स्वनिर्भर हुने यस्तो सपना देख्न थालें कि लगत्तै एमबिएस पनि सकें। कलेज नै टप गरें। स्कुल कलेजमा ठिकठिकै विद्यार्थी म, स्नातकोत्तर लेभलमा पुगेर उत्कृष्टता हासिल गरें।

अहिले म प्रतिष्ठित बैंकमा कार्यरत छु। जीवनमा व्यक्तै गर्न नसकिने सन्तोष मिलेको छ। छिट्टै प्रमोशन हुने लाइनमा पनि छु। जागिरलाई निरन्तरता दिन पाउने सर्तमै छ महिना अघि विवाह गरें मैले।

मेरी माइजूको अघोषित प्रतिद्वन्दी, आज्ञा आन्टी मेरो जीवनकै आदर्श बन्न पुग्नु भयो। आज्ञा आन्टीको यस्तो छाप पर्यो कि उहाँकै पदचाप पछ्याँए।

अहिले म उहाँबाट टाढा छु। यो कुरा उहाँलाई कहिल्यै नबताएपनि मेरो मनमन्दिरमा उहाँकै बास छ। मौका मिलेमा अवश्य उहाँलाई यी कुरा भन्ने छु।

मेरी माइजू भने डाहा र जलनको आगोमा जीवनभरि जलिरहनु भयो। अरुले नदेख्ने गरी। त्यो जलनको राप त सायद मैले मात्र महशुस गर्न सकेकी थिएँ।

उहाँले कुरा काटेर र डाहा गरेर आन्टीको केही बिगार्न सक्नु भएन। उल्टै मजस्ती एउटी साधारण भाञ्जीको नजरबाट गिर्नु भयो। सधैं अभाव र तनावका बीच बाँच्नु पर्यो।

उहाँलाई नै रोल मोडल मानेकी भए म पनि त्यस्तै थोत्रो विचारधाराकी साधारण गृहिणी हुने थिएँ होला। गृहिणी हुनु नराम्रो कुरा पक्कै होइन। तर आफ्नो घरपरिवारको उचित व्यवस्थापन र सफासुग्घर गर्ने र अरु रचनात्मक काम गर्नै पर्छ एउटी कुशल गृहिणीले।

सुन्दैछु फेरि मामा-माइजूले कोठा सर्नु पर्यो रे। यो पटक कसलाई आरोप लगाउनु भयो कुन्नि! कोही मान्छेले वरिपरि हेरेर पनि पटक्कै नसिक्ने रहेछन्।

आफ्नो सुखदुःखको लागि खाली भाग्यलाई दोष दिनुभन्दा आफ्नै आनीबानीलाई सुधारे पुग्ने रहेछ। बेलैमा सकारात्मक सोच राख्दा सफलताको सिढीं चढ्न पनि सजिलो हुने रहेछ। धेरै धेरै धन्यवाद आज्ञा आन्टीलाई।

प्रतिक्रिया

सम्बन्धित खवर